Tuesday, July 28

आजबाट थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ । चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि यो व्यवस्था मिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाहरुको संख्या आठ पुगेको छ ।

Advertisement
Advertisement

अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकता लगायतका परिचय पत्रसहित फोटो खिचाउन र औंठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरुले भने फेरि नाम लेखाउन नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएपछि सेवाग्राहीलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने व्यवस्था नहुने निर्वाचन आयोगको विश्वास छ ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य गत असार १ गतेदेखि सुरु गरेको थियो । यो काम निर्वाचनको मिति घोषणा नहुन्जेलसम्म जारी रहन्छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा हुने सम्भावना छ ।

विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आˆनो नाम लेखाउन सक्ने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । तर मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने छ ।

आफ्नो नाम, थर, लिंग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगले जनाएको छ ।