
नेपालअखबार, काठमाडाैं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ।
पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
यस्तै आजको बैठकमा अर्थमन्त्रीको बारेमा पनि छलफल हुनेछ।
संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ।
गत शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका तालिका हेरफेर गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो।
प्रवक्ता महराका अनुसार मधेश प्रदेशमा साउन २९ मा तोकिएको बैठको भदौ २ मा हुने भएको छ। यस्तै लुम्बिनी प्रदेशको साउन २६ का लागि निर्धारित बैठक भदौ १ मा र कर्णाली प्रदेशको बैठक भदौ २९ मा हुनेछ।
यस्तै, सुदूरपश्चिम प्रदेशको बैठक भदौ ४ मा बस्ने उनले बताए। सम्पर्क मञ्चको बैठक भने भदौ ८ मा बस्ने तय भएको छ।

