Wednesday, July 15

तनहुँमा प्लाष्टिकबाट सडक निर्माण

नेपालअखबार, तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकामा खेर गएका प्लाष्टिकलाई उपयोग गरी सडक निर्माण गरिएको छ।

Advertisement

शुक्लागण्डकी नगरपालिका-७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिए।

Advertisement
Advertisement

नगरपालिका-७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवंं पोखरास्थित ग्रिन रोड फोहर व्यवस्थापन प्रालिले प्राविधिक सहयोग गरेको थियो।

Advertisement

उक्त सडक ३३० मिटर लामो छ भने सडकको चौडाई तीन दशमलव पाँच मिटर छ। सो कार्यका लागि २२० केजी प्लास्टिक प्रयोग भएको सूर्य नेपालका हुमनाथ अर्यालले बताए।

उक्त प्लास्टिक सेराटारका बासिन्दा र केही नगरपालिकाको फोहरमैला फाल्ने स्थानबाट सङ्कलन गरी ल्याइएको उनले जानकारी दिए।

सडक निर्माणमा प्रयोग गरिएको प्लास्टिकले २० प्रतिशत अलकत्राको प्रयोग घटाउने अर्यालको भनाइ थियोे। पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकलाई सफा गरी आवश्यक तापक्रममा राखेर अलकत्रासँग मिसाएर प्रयोग गरिएको हो। केही महिनाअघि सूर्य नेपालको सहयोगमा प्लास्टिक जम्मा गर्न तालिम प्रदान गरी स्थानीय बासिन्दालाई प्लास्टिक जम्मा गर्न लगाइएको थियो।

सडकमा प्लास्टिक प्रयोग भएपछि पानीले सडक चाँडो नबिग्रने, अलकत्राको प्रयोग कम हुने र आयात घट्ने व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिए। सडकका सबै संरचना निर्माणका लागि सूर्य नेपालले ४९ लाख रुपैयाँ र नगरपालिकाको तीन लाख रुपैयाँ लगानी गरेकोे बताइएको छ।  रासस