Friday, August 28

शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

नेपाल अखबार, बागलुङ । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको छ ।

Advertisement

पालिकाले गाउँसभाबाट नीति तथा बजेटमा सो कुरा समावेश गरेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद, बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने ताराखोला गाउँपालिकाले जनाएको छ ।

Advertisement
Advertisement

गाउँपालिकामा शसस्त्र द्वन्द्वका क्रममा राज्यको तर्फदेखि २१ जना शहीद र दुई जना वेपत्ता भएका थिए भने विद्रोही माओवादीको तर्फबाट चार जना शहीद गरी २७ जनालाई मासिक एक हजार ५०० का दरले भत्ता दिने निर्णय गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर बिकले जानकारी दिए ।

Advertisement

गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् । यस्तै पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएको परिवारलाई रोजगारी दिने गरी नीति ल्याएको छ । रासस