Saturday, July 11

डेढ वर्षमै बिग्रियो गाउँपालिकाले खरिद गरेको जेसिबी

नेपालअखबार, दाङ। दाङको दङ्गीशरण गाउँपालिकाले खरिद गरेको जेसिबी डेढ वर्षमै बिग्रिएको छ।

Advertisement

अहिले उक्त जेसिबी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा थन्क्याएर राखिएको छ।

Advertisement
Advertisement

आर्थिक वर्ष २०७५/७६ मा रु ३३ लाखमा खरिद गरिएको उक्त जेसिबीले आम्दानी भने केही गर्न सकेन।

Advertisement

‘खरिद गरेको डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्था छ’, गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तवीर चौधरीले भने, ‘यसबाट एक रुपैयाँ पनि आम्दानी लिन सकिएन।’

बिग्रिएपछि मर्मत गर्न लगिएकामा खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्क्याएर राखिएको उनको भनाइ थियो।

मर्मत खर्च रु पाँच लाख लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याउनै फाइदा भएको भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेरै थन्क्याइएको शाखा प्रमुख चौधरीले जानकारी दिए।

‘पटक/पटक बिग्रिरहने भयो, पछिल्लो पटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याएकै फाइदा हुने भयो’, उनले भने, ‘त्यसपछि कार्यपालिकाले थन्क्याउने नै निर्णय गरेको हो।’

बुद्ध इलेक्ट्रो पावर प्रालीले टेन्डरमा  खरिद गरेको उक्त जेसिबीबाट फुर्केसल्लीसम्म सडकको ट्रयाक खोलिएको र अन्य वडाका सडक निर्माण गरिएका थिए। काम धेरै भए पनि आम्दानी भने न्यून भएको शाखा प्रमुख चौधरीले बताए।

अहिले बिग्रिएर थन्क्याएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए।

‘लिलाम गर्ने हो कि भन्ने कुरा छलफल चलेको छ’, उनले भने, ‘के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ।’

गाउँपालिकाले त्यतिबेला करिब रु १६ लाखको  लागतमा एउटा ट्र्याक्टर पनि खरिद गरेकामा नियमित चलिरहेको छ। रासस