Saturday, July 11

चुनावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असर पर्दैन : मन्त्री अथक

नेपालअखबार, पोखरा। युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज “अथक”ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगन नहुने जानकारी दिएका छन्। उनले निर्वाचन भन्दा एक महिनाअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुने हुँदा निर्वाचन कार्यतालिकालाई असर नपार्ने बताए।

Advertisement

प्रतियोगिता तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री गहतराजले सो कुरा बताएका हुन्। खेलकुदमन्त्री गहतराले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहे पनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढीभन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्नेमा जोड दिए।

Advertisement
Advertisement

मन्त्री गहतराजलले प्रतियोगिताका लागि निर्माण गरिने भनिएका स्वीमिङ, सुटिङलगायतका खेल पूर्वाधार विविध कारणले निर्माण गर्न नसकिए पनि राष्ट्रिय खेलकुद सम्पन्न पछि समेत त्यसलाई अघि बढाइने प्रतिबद्धता जनाए। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताए।

Advertisement

उनले भने “विगतका संस्करणको अनुभवलाई समेटेर सामूहिक दायित्वका साथ प्रतियोगिता सफल बनाउनुपर्ने सबैको साझा दायित्व हो। ” पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन महानगर राखेप र प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी गराउँदै कार्यतालिकाअनुसार काम अघि बढाइएको जानकारी दिए। आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ।-रासस