Saturday, July 18

बस्ती बसेको बीस वर्षपछि बिजुली

नेपालअखबार, गोदावरी। कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो।

Advertisement

दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन्।

Advertisement
Advertisement

खोलाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन्।

Advertisement

बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताइन्।

यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उनले बताइन्।

‘बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो’, उनले भनिन्, ‘बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौं र घरभित्र सुत्न पाएका छौं।’

यसअघि पटक–पटक बिजुली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ। विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उनको भनाइ छ।

नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको बताए।

लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका  टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उनले बताए। सो टोलले  बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत् छ। रासस