Monday, August 10

आजबाट काठमाडौंका सार्वजनिक स्थलमा धूमपान निषेध

नेपालअखबार, काठमाडाैं । आजबाट काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ।

Advertisement

महानगरका नगरप्रमुख बालेन शाहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको बताए।

Advertisement
Advertisement

उनका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा  सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।

Advertisement

महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।

महानगरको नियम उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने महानगरले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गरेर सचेत गराइसकेको छ।

सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।

यस्तै ललितपुर महानगरपालिकाले यसअघिनै नगरका मुख्य चोक, सार्वजनिक स्थान, स्कुल, क्याम्पस, अस्पताल लगायत क्षेत्रमा धुम्रपान निषेध गरिसकेको छ।