Saturday, July 11

घाँस काट्न निस्केकी महिलाको हत्या

नेपालअखबार, महाेत्तरी। महोत्तरीको मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ। उनको शव बाँसघारीमा फेला परेको थियो। फलामको पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरी सलले घाँटी कसेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।

Advertisement

खातुनको बलात्कार गरी हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ। यद्यपि पोस्टमर्टम रिपोर्ट आएपछि मात्र वास्तविकता खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए।

Advertisement
Advertisement

हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ। घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी यादवको भनाइ छ।

Advertisement

गत असोज ७ गते बिहान ११ बजे घाँस काट्न भनी अमना घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिई निस्केकी थिइन्। साँझसम्म उनी घर नफर्केपछि छिमेकी तथा आफन्तले उनको खोज तलास सुरू गर्‍यो। नभेटेपछि स्थानीय प्रहरीलाई खबर गरियो।

खोजतलास क्रममा राति पौने १० बजे धिरापुर गाउँदेखि डेढ किलोमिटर पूर्वमा बिगही खोलाको किनारमा पर्ने झिझाँ बगैंचाको बाँसघारीमा खातुनको शव फेला परेको थियो।

घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरूवालको डोरी चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताको गोजीको टुक्रा फालिएको र च्यातिएको अवस्थामा आरोपितको गन्जी पनि फेला परेको डिएसपी यादवले जानकारी दिए।

यादवका अनुसार हत्या आरोपी मोजाहिरले एक सय मिटरसम्म शव घिसारेर बाँसघारी ल्याएर राखेका थिए।

हत्यापश्चात् उनले मृतकले लगाएकी पाउजु र नाकको फुली निकालेर जलेश्वरस्थित एक सुन पसलमा ६ हजार रूपैयाँमा बेचेका थिए।

हत्या अरोपी मोजाहिरविरूद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान गरिरहेको डिएसपी यादवले बताए।