Saturday, July 11

चाडपर्वमा ग्रामीण यात्रुलाई समस्या: एक किमीको भाडा २५ रुपैयाँ!

नेपालअखबार, मलेखु,। ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन्। बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन्। दसैंमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ।

Advertisement

उकालो–ओरालो र घुम्तीमा यात्रुबाहक बस जानै सक्दैनन्। त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका बोलेरो जीपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन्। चालकसहित छ जनाको सिट क्षमता भएका सवारीले १५ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन्। चाडपर्व नजिकिएसँगै निजी सवारी साधनले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन।

Advertisement
Advertisement

यात्रुको लोड त छँदैछ, खाद्यान्न, लत्ताकपडा लगायतका सामानको लोड पनि उस्तै हुन्छ। यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन्। सदरमुकामबाट बोलेरो जीप चढेर गन्तव्यतर्फ जाँदै गरेका यात्रु शिव मगर भन्छन्, ‘बाटो अप्ठ्यारो छ, सबैलाई बोक्नैपर्छ भन्दै जीपले मनलाग्दी भाडा उठाउँछ, अरू गाडी चल्दैन, त्यसैले बाध्य भएर चर्काे भाडा तिरेरै हिँड्न बाध्य छौं।’

Advertisement

एक किलोमिटरको भाडा रु २५ सम्म तिर्न यात्रु बाध्य छन्। प्रतिवाद गरे चालकले गाडी चढ्नै नदिने र पैदल नै हिँड्नुपर्ने यात्रुको बाध्यता छ। सदरमुकाम धादिङबेँसीबाट छ किलोमिटरको दूरीमा रहेको स्याउली गएको भाडा रु एक सय ५० तिर्नुपरेको मगरले सुनाए।

सदरमुकाम धादिङबेँसीबाट जिल्लाको उत्तरी क्षेत्रमा जोड्ने टोड्के भन्ने ठाउँ करिब १५ किलोमिटरको दूरीमा छ। धादिङबेँसीबाट उत्तरी धादिङ जोड्ने सिमाना किन्ताङफेदीसम्मको दूरी जम्माजम्मी २७ किलोमिटर छ। यी सडकमा गुड्ने बोलेरो र मुस्ताङ जीपले १५ देखि ३० किलोमिटरसम्मको भाडा पाँच सय रुपैयाँदेखि सात सय रुपैयाँ असुल्दै आएका छन्। त्यो पनि सामानको भाडा छुट्टै तिर्नुपर्छ।

नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीबाट नेत्रावती–५ जाँदै गरेका तुलबहादुर तामाङ भन्छन्, ‘अघिल्ला वर्षहरूमा रु दुई सय भाडा थियो, अहिले रु पाँच सय लिन्छन्।’

यातायात व्यवस्था विभागको भाडादर हेर्ने हो भने कच्ची, हिलेधुले र पहाडी बाटोमा प्रतिकिलोमिटर पाँच रुपैयाँ ५० पैसा भाडादर छ।

सदरमुकामबाट जिल्लाको खरी, मैदी, धुवाकोट, खाल्टेलगायतका बस्तीमा पुग्ने सवारी साधनले यसरी मनोमानी भाडा असुलिरहेका छन्।

पछाडि र छतमा समेत टनक्कै सामान कोचेर हिँड्ने सवारी साधनका कारण जोखिमपूर्ण त छँदैछ चर्काे भाडा तिर्नु यात्रुको बाध्यता पनि छ।

‘कच्ची सडकमा यात्रुबाहक बस जान सक्दैनन्, साना गाडी नचढे हिँड्नुको विकल्प छैन’, मैदीबाट सदरमुकाम आएका यात्रु कृष्ण अधिकारीले भने, ‘बाटो राम्रो नभएकाले बस हिँड्दैनन्, बाध्यताले बोलेरो चढेर हिँड्नुपर्छ।’

यस्ता बोलेरोसँग बाटो इजाजतपत्र हुँदैन। क्षमताभन्दा तेब्बरसम्म लोड बोक्छन्। टनक्कै सामानमाथि छतमा र पछाडिको भागमा समेत मान्छे झुण्ड्याएर यात्रा गराइरहेका छन्। सदरमुकामबाट ग्रामीण बस्तीमा जाने बोलेरो जीपले जोखिमपूर्ण यात्रा गराइरहँदा ट्राफिक प्रहरी निरीह छन्। दुर्घटना भइहाल्यो भने आउने समस्याको चालकले ख्यालै गरेका हुँदैनन्।

चालक भने कच्ची सडकमा जोखिम मोल्न परेकै कारण भाडादर महँगो लिनुपरेको बताउँछन्।

‘एकपटक गाउँ गएर फर्किंदा तेल खर्च र मर्मत खर्च छुट्याउँदा उल्टै घाटा लाग्छ, बाटो सजिलो भइदिए त भाडा पनि सस्तोमा बोक्न सकिन्थ्यो’, चालक दीपक श्रेष्ठले भने।

एउटा जीपले १५ देखि १७ जनासम्म यात्रु बोक्छ। त्यसमा खाद्यान्न, लत्ताकपडा लगायतका सामान पनि उत्तिकै हुन्छ। जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गरेर चर्काे भाडा उठाएको विषयमा आधिकारिक यातायात व्यवसायी प्रालि पनि अनभिज्ञ नै छन्। निजी सवारीले चर्काे भाडा उठाएर जोखिमपूर्ण यात्रा गराइरहेको देखे पनि कसैले बोल्न सकेका छैनन्। महँगो भाडा असुलेर गुडिरहेका निजी सवारीलाई प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने  संयुक्त यातायात बस तथा जीप व्यवसायी सङ्घ धादिङका अध्यक्ष राम थापाले बताए।

हुन त संयुक्त यातायात बस तथा जीप व्यवसायी संघमार्फत् उत्तरी धादिङ चल्ने जीपले पनि निजी बोलेरोले जत्तिकै भाडा उठाइरहेका छन्।

छतमा र पछाडिको भागमा पनि यात्रु कोचेर जोखिमपूर्ण यात्रा गरिरहेको प्रति स्थानीय प्रशासन पनि मौन  छ। स्थानीय सरकारले पनि बिग्रिएका कच्ची सडक स्तरोन्नति गरेर ठूला बस सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिएको देखिँदैन। दसैं सुरू भएदेखि झनै यस्ता साना सवारीको मनोमानी बढेको छ। बर्खाको बेला बाटो खराब छ भन्दै महँगो भाडा उठाउँदै आएका सवारी साधनले चाडपर्वमा यात्रुको चाप बढेसँगै अनेकन बहानामा भाडा बढाएको गुनासो यात्रुले गरेका छन्। रासस