Wednesday, July 29

विस्थापित बाढीपीडित भन्छन्– रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ

नेपालअखबार, नेपालञ्ज। बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलकी पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्। उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्।

Advertisement

उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगी संक्रमणको अर्को चिन्ताले पिरोलेको छ।

Advertisement
Advertisement

‘चिसो भुइँमा एउटा ओछ्याउन लगाउँछिन्, अनि सुत्छिन् त्यसपछि लामखुट्टेले उनलाई सुत्नै दिँदैन। रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ। उनी भन्छिन्- लामखुट्टेले सुत्न दिँदैन।

Advertisement

अर्की बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि डेंगी संक्रमणको जोखिममा छिन्।

उनले भनिन्, ‘घरमा झुल थियो, बाढीले बगाइदिँदा ल्याउनै पाइनँ, अहिले लामखुट्टेका कारण हैरानी खेपेको छु।’

उनीहरू मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका कारण विस्थापित भएकाहरू सबै जना डेंगीको जोखिममा परेका छन्।

नालासँगै जोडिएको शोभाको घर हेर्न लायक छैन। यतिबेला उनको घर डुबिसकेको छ।

‘घरबाट केही सामान ल्याउन पाइएन’, उनले भनिन्, ‘यहाँ व्यवस्था पनि राम्रो छैन, बिहानको खानलाई मात्र चामल र तरकारी भएको जनाउँदै भनिन्, ‘साँझलाई चामल, तरकारी छैन, बाढीपीडित अहिले समस्यामा परेका छन्।’

यहाँ झुलसहित लामखुट्टे धपाउने धुप भए सहज हुने बाढीपीडित कौशिलाले बताइन्।

‘झुलको व्यवस्था हुनुपर्छु’, उनले भने, ‘नत्र हामी सबै डेंगी संक्रमणको सिकार हुन्छौं।’

लगातार भइरहेको वर्षाका कारण विद्युत समेत अनियमित हुँदा थप समस्या झेल्नुपरेको उनले बताइन्।

‘बत्ती भएको भए त्यति धेरै लामखुट्टे लाग्ने थिएनन्’, उनले भनिन्, ‘बत्ती पनि हुँदैन, आफ्नो झुल बाढीले बगाइसक्यो, अरू कसैले सहयोग गरेका छैनन्।’

बाढीपीडितहरू डेंगी संक्रमणको जोखिममा परेको भन्दै उनले तत्काल झुलको व्यवस्था हुनुपर्ने माग गरिन्।

यतिबेला आश्रय लिएको विद्यालय प्राङ्गणमा खाल्डाखुल्डी भई पानी जम्दा लामखुट्टे बढी देखिएको बाढीपिडितको भनाइ छ। वडा तथा पालिका सरकारले तत्काल डेंगी संक्रमणबाट बचाउन झुल वितरण गर्नुपर्ने बाढीपीडितको भनाइ छ।

अहिले यहाँ करिब ३०–४० घरपरिवार विस्थतपित भई आश्रित छन्।

ज्येष्ठ नागरिक  र गर्भवतीलाई समस्या

चिसोका कारण बाढीपीडित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका छन्। घरमा बाढी पसेपछि विद्यालयमा आश्रित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका हुन्। चिसो हुँदा वृद्धवृद्धा र बालबालिकालाई ज्वरोले सताउन थालेको छ। चिसोले ज्वरो आई बिरामी भएको कमानसिंह ठकुरीले बताए।

उनले भने, ‘चिसो भुइँमा सुत्नुपर्छ, बूढो पनि भइयो, शरीरले चिसो पचाउन सक्दैन त्यसैले पनि होला, ज्वरो आएर थलिएको छु।’

न्यानो बसाइँ नहुनु र खानपिनको समस्याका कारण आफू बिरामी भएको धनबहादुर तामाङले बताए।

उनले भने, ‘बाहिर पानी रोकिएको छैन, स्वास्थ्योपचार गर्न कहाँ जानु।’

साथै यहाँ रहेका सुत्केरी र गर्भवतलाई समेत समस्या हुँदै आएको छ। यतिबेला चिसोबाट बच्नुपर्ने र पौष्टिक र झोलिलो खानेकुरा खानुपर्ने समयमा उनीहरू त्यसबाट बञ्चित भएका छन्।

यसैबीच विस्थापित बाढीपीडितलाई स्वास्थ्य लगायतका समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाले समस्याका बारेमा जानकारी लिने भएको छ। त्यहाँको समस्याबारे अध्ययन गरी स्वास्थ्योपचार गर्ने स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए।

उनले भने, ‘आश्रयस्थलमा बसेका बाढीपीडितलाई डेंगीको जोखिम बढेको छ भने अन्य स्वास्थ्य समस्या भएको जानकारी आएको छ, त्यसका लागि स्वास्थ्य टोलीमार्फत् समस्या समाधान गर्नेछौं।’ रासस