
नेपालअखबार, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् ।
भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर प्रमुख धनराज आचार्यले अहिले पर्यटकको चाप बढेको र नवौं राष्ट्रिय खेलकुद पनि पोखरामा भइरहेको सन्दर्भमा ताल सफाइ गर्न लागेको बताए ।
‘यो बर्खामा सधैं हुने समस्या हो । माथिबाट ठूलो पानी बगाएर तालमा झार र फोहोर जम्मा हुन्छ । यसले तालको सुन्दरतालाई क्षति पुगेकाे हुदाँ सरसफाइ महाअभियान सुरु गरिएको महानगर प्रमुखले आचार्यले बताए । तर, यो अभियान निरन्तर रहन्छ ।’
फेवाताल ड्यामसाइडदेखि चंखपुरसम्म ३३ वटा स्टेसन बनाएर सरसफाइ सुरु गरिएको छ, जसमा ३३ वटै वडाका वडाध्यक्षले नेतृत्व गरेका छन् । सरसफाइमा सुरक्षाकर्मीहरुलाई पनि खटाइएको छन् ।

