Monday, August 3

गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

नेपालअखबार, पोखरा  । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ र ‘ख’ का उम्मेदवारले विकाश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । बुधबार विहान पोखराको नयाँ बजारमा क्षेत्र नं. २ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले आफू निर्वाचित भएर कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्ने बताए ।

Advertisement

उनले जनताको पक्षमा कानुन निर्माण गर्न र विकास निर्माणका कुरालाई संगसंगै अगाडि बढाउने कुरामा आफू दृढसंकल्पित भएर काम गर्ने उनले प्रतिपद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य समेत रहेका उनले विकास र समृद्धिका लागि गठबन्धन निर्माण भएको बताए ।

Advertisement
Advertisement

आफूले कास्कीका जनताको भावना जनतासंग सुखदुखमा संगै रहेर गहिरोगरी बुझेको भन्दै उनले कास्कीका जनताको केन्द्रीय प्रतिनिधि भएर निरन्तर काम गर्ने धारणा राखे । ‘यहाँका हरेक नागरिकको साथमा रहेर यहाँहरुका दुखसुखमासंगै काम गरेको छु । कास्कीका जनताको भावना बुझेको छु । त्यो भावना अनुरुप केन्द्रमा सशक्त आवाज उठाउने कुरा, जनताको पक्षमा कानुन निर्माण गर्ने कुरा र विकृत राजनीतिलाई सहि ट्रयाकमा ल्याउने कुरामा मेरो सधैं ध्यान केन्द्रित हुनेछ । यहीढंगले म यहाँको प्रतिनिधि भएर संसदमा भूमिका खेल्नेछु’ उनले भने ।

Advertisement

गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएको बताए । उनले अव विकास र समृद्धिका लागि आफूहरुले काम गर्ने धारणा राखे । उनले स्पष्ट एजेण्डाका साथ गठबन्धन आएको भन्दै सबैले एकतावद्ध भएर गठबन्धनलाई जिताउनु पर्ने बताए ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले आवस्था परिवर्तनका लागि गठबन्धन बनेको बताए । गठबन्धन सरकार निर्माण र निर्वाचन जित्नका लागि मात्र नभएको भन्दै उनले यसले स्थिर सरकार समेत दिने धारणा राखे । उनले जनताले लडेर ल्याएको व्यवस्था नै असुरक्षित हुने अवस्था आएपछि गठबन्धन गरेर अगाडि बढ्नु परेको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समिति सभापति एवं निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य चुडामणि जंगली, कांग्रेस नेता देवराज चालिसे, माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी अध्यक्ष बखानसिंह गुरुङ र एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवार रत्ना गुरुङ र नेपाल समाजावादीका नेता भिमबहादुर थापा सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले बोलेका थिए ।

गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालय नयाँ बजारमा स्थापना भएको हो । कार्यालयको उम्मेदवारसहित गठबन्धन दलका गण्डकी प्रदेशका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।