सयपत्री र मखमली नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य
नेपालअखबार, काठमाडाैं । तिहारका बेला फुल्नुपर्ने फूल यसपटक ढिलो गरी फुल्न लागेपछि तेह्रथुमबासी प्लास्टिकका फूलमाला किन्न बाध्य छन्।
फूलैफूलको पर्व तिहारमा फूल ढिला गरी फुलेपछि म्याङ्लुङमा व्यवसायी र उपभोक्ता चिन्तित छन्।
समयमै फूल नफूल्दा घर सजाउन र भाइटिकाका लागि फूलको अभाव भएको छ। तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छ। थर गाउँपालिका-५ की सावित्रा पौडेलले गुनासो गरिन्।
हर्कमाया दाहाल पनि तिहारका लागि बारीमा रोपेको फूल नफूलेपछि चिन्तामा छिन्।
‘यसपटक फूलमा गरेको मेहेनत खेर जाने भयो। सबै फूल खोज्न आउँछन् तर रित्तो हात फर्काउनुपरेको छ,’ उनले भनिन्, ‘गाउँमै फूल नहुँदा यो वर्ष फूलको अभाव खेप्नु परेको छ।‘
सरकारले साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो।
प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा एक लाखसम्म जरिवाना लगाइने राजपत्रमा उल्लेख छ। तर तेह्रथुममा निर्वाधरूपमा प्लाष्टिकका फूल बिक्री भइरहेका छन्। रासस