Thursday, July 16

मतपत्र छापेर सकियो

नेपालअखबार, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छापिएको छ ।

Advertisement

निर्वाचन आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छापेर सकेको हो ।

Advertisement
Advertisement

शुक्रवार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइ सम्बन्धी कामको अवलोकन गर्दै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए ।

Advertisement

उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छापिएको बताए ।

उनले दुर्गम ठाउँमा यसअघि नै मतपत्र पठाइएको पनि बताए । ‘कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ, प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा बाँकी छ, यो छिटै हुन्छ,’ उनले भने, ‘चुनौतिपूर्ण काम छाप्ने थियो, ढुवानी छिटै हुन्छ ।’

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन् ।

यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जस अनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।