
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशमाथि ६९ रनको फराकिलो जित रचेको छ । लगातार दोस्रो जितसँगै आर्मीले समूह ‘ए’बाट सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ ।
पाँच टोली सम्मिलित समूहमा २ जितसँगै ४ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ । चार खेलबाट ५ अंकसहित गण्डकी दोस्रो स्थानमा छ भने ७ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
यो समूहमा मधेश प्रदेश र कर्णाली अहिलेसम्म जितविहीन छन् । कर्णालीले प्रदेश १ सँग र आर्मीसँग खेल्न बाँकी छ । सेमिफाइनलमा पुग्नका लागि आर्मीले कर्णालीलाई हराउनै पर्नेछ । सो खेलमा कर्णाली विजयी भएमा गण्डकी सेमिफाइनलमा पुग्नेछ ।
१६६ रनको लक्ष्य पछ्याएको गण्डकीलाई ३३.२ ओभरमा ९६ रनमा अलआउट पार्ने क्रममा आर्मीका स्पिनर सुशान भारीले ५ विकेट लिए । उनले ९ ओभरमा २ मेडन राख्दै १४ रनमात्र खर्चिए । साहव आलम र कुशल मल्लले २–२ तथा वित्रम शोवले १ विकेट लिए ।

