Saturday, May 2

पोखरा १६ र २१ मा गठबन्धनका उम्मेदवारको घरदैलो र कोणसभा

नेपालअखबार, पोखरा । कास्की–२ मा गठबन्धनका उम्मेदवारहरु सोमबार पोखरा १६ र २१ को घरदैलोमा व्यस्त छन् । पोखरा २१ निर्मल पोखरीमा प्रतिनिधिसभा उम्मेदवार श्रीनाथ बराल, २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने, नेकपा एकीकृत समाजवादीबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शारदाप्रसाद सुवेदी र दिलु पन्त, कांग्रेसको तर्फबाट समानुपातिक तर्फकी प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार वृन्दा राना र कांग्रेस केन्द्रीय सदस्य गुरु बरालसहितका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा सभागी रहेका कास्की–२ को ५ दलीय गठबन्धनका प्रचारप्रसार समिति संयोजक केशर निर्दोशीले जानकारी दिए ।
यता पोखरा–१६ दीपमा पनि गठबन्धनका उम्मेदवारसहितको घरदैलो कार्यक्रम जारी छ । घरदैलो कार्यक्रममा कास्की २ (२)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापा, माओवादीको तर्फबाट समानुपातिक तर्फकी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुवेदा खातुन, नेकपा एकीकृत समाजवादीको तर्फबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रत्ना गुरुङ, नेपाली कांग्रेसबाट समानुपातिक तर्फका प्रदेशसभा सदस्य पदका उम्मेदवार लक्ष्मी पाण्डे र नेपाली कांग्रेसका नेता देवराज चालिसेसहितका नेता कार्यकर्ता सहभागी छन् ।
दुबै ठाउँमा स्थानीयले फूल मालासहित स्वागत गरेका छन् । स्थानीयहरुले आफ्नो क्षेत्रका समस्या राख्दै यसपाली गठबन्धनका उम्मेदवारले नै जितेर जन अपेक्षा पुरा गर्नुपर्ने बताएका छन् ।

ऐन कानून निर्माणसंगै विकाश निर्माणमा मेरो जोड रहन्छ ः बराल

Advertisement

नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेवदार श्रीनाथ बरालले ऐन कानुन निर्माणसंगै विकास निर्माणमा आफ्नो जोड रहने बताएका छन् । सोमबार पोखरा–२१ निर्मल पोखरीमा आयोजित घरदैलोसहितको कोणसभालाइृ सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । आफू पाँच दलको साझा उम्मेदवार रहेको पाँच दलको भावनाका साथै असली एमालेका नेता कार्यकर्ताको समेत आफू साझा उम्मेदवार रहेको दाबी गरे ।
उम्मेदवार बरालले लोकतन्त्र र संविधान जोगाउन अनि जनताको अपेक्षा अनुरुप काम गर्न गठबन्धन बनेको धारणा राखे । पोखरा महानगरपालिकाको नेतृत्व गठबन्धनको रहेको, प्रदेश सरकार पनि गठबन्धनकै बन्ने र केन्द्र सरकार पनि गठबन्धनको बन्ने भन्दै उनले केन्द्रबाट योजना ल्याउने, नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै जनताको सुखदुखमासंगै रहने उनले बाचा गरेका छन् ।

उनले कुबिन्नेबाट, कृष्ति, निर्मलपोखरी, भरतपोखरीहुँदै कोत्रे निस्कने बाटोलाई स्तरोन्नति गरेर बाइपास सडकको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । भित्री र अन्य सडकको स्तरोन्नत्ति गर्ने र खानेपानीको समस्या पूर्णरुपमा हल गरेरै छाड्ने उनको दृढता छ । खानेपानी प्रयाप्त हुनेगरी, स्थानीय कुवाको समेत संरक्षण गर्दै घरघरमा खानेपानीको प्रवन्ध गरिने उनले बताए । भरतपोखरी र निर्मलपोखरी क्षेत्रमा पर्यटनको विषयमा अध्ययन हुने विद्यालय खुल्ने सुखद् खबर पनि केही समयमा स्थानीय सुन्न पाउने उनले जानकारी दिए ।
महिला, पछाडि परेका समुदायको उत्थान गर्ने भन्दै उनले कृषिमा आधुनिकिकरण र व्यवसायिकरण गरेर जनताको जीवनस्तर माथि उठाउने उनले योजना सुनाए । विदेश गएका र सहरमा रोजगारीमा गएकाहरुलाई गाउँमै केही गर्ने वातावरण बनाउने उनको भनाई छ । सुन्तला, कफी, तरकारीबाली र पशुपालन उक्त क्षेत्रको आधार रहेको भन्दै प्रविधि भित्र्याएर व्यवसायीकरण गर्ने उनले बताए ।
पोखरालाई पर्यटनको राजधानी बनाउन महत्वपूर्ण भूमिका खेल्ने, शिक्षा र खेलकुदको महत्वपूर्ण केन्द्र बनाउने, स्वास्थ्यको भरपर्दो केन्द्र बनाउनेगरी काम गर्ने उनको भनाई छ । यसका लागि पोखरा महानगर, प्रदेश सरकार र केन्द्रसंग मिलेर काम गर्ने उनले बताए ।

स्व. रविन्द्र र विजयको स्मृति पार्क निर्माण गर्ने लामिछानेको प्रतिवद्धता
नेकपा माओवादी केन्द्रका नेता एवं कास्की–२ (१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने आफ्नो स्वर्गीय नेता रवीन्द्र अधिकारीसंग राम्रो सम्बन्ध रहेको स्मरण गरे । उनले रविन्द्र स्मृति पार्क र बिजय ढकाल स्मृति पार्क बनाउन पहल गर्ने बताए ।
उम्मेदवार लामिछानेले अन्तर जिल्ला जोड्ने सडक बनाउन पहल गर्ने, लिफ्टिङ् खानेपानी योजना प्रभावकारी रुपमा अघि बढाउने लगायतका योजना सुनाए । उनले विपन्न परिवारलाई जग्गा र आवास उपलब्ध गराउने र उक्त क्षेत्रको बादर आतंक हटाउने योजना अघि बढाउने प्रतिवद्धता जनाए । पोखरा महानगरको अनुभव हुने गरि सार्वजनिक संरचना बनाउन पहल गर्ने समेत उनले बताए । आफूहरुले मात्र निर्वाचनमा जित्नका लागि गठबन्धन नबनाएको भन्दै विकास र समृद्धिका लागि अगाडि बढेको धारणा राखे ।
कोणसभामा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य गुरु बरालले संविधान च्यातिने, लोकतन्त्रलाई धरापमा पार्ने काम तत्कालिन प्रधानमन्त्री ओलीले गरेपछि गठबन्धन बनेको र त्यो खतरा अझै रहेकाले जनता सचेत बन्नुपर्ने बताए । निर्मलपोखरीवासीले आफ्नो मतबाट गलत काम गर्नेलाई साथ नदिने उनले विश्वास प्रकट गरे ।
उक्त अवसरमा नेपाली कांग्रेसकोबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार वृन्दा राना र एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार सारदा प्रसाद सुवेदी, एकीकृत समाजवादी समानुपातिक उम्मेदवार दिलु कुमारी पन्त र अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बिजय राज आचार्य माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी महिला संगठन कास्की अध्यक्ष देवीमाया अधिकारी र एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य दताराम आचार्य लगायतले संविधान बचाउन काँग्रेस र कम्युनिस्ट एक भएको बताए ।