Sunday, July 26

झापा कारागारका एक सय ४८ जनाले मतदान गर्न पाउने

नेपालअखबार, झापा। आसन्न मंसिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन्। कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेको जनाइएको छ।

Advertisement

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ।

Advertisement
Advertisement

कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने बताए।

Advertisement

उनले भने, ‘कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा एक सय ४८ जनाको नाम छ। नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ।’

कारागारमा हाल एक हजार दुई सय ४५ पुरुष, ७१ जना महिला र दुई जना बालबालिका कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ। जसमध्ये एक हजार तीन सय ३५ नेपाली र एक सय १० जना विदेशी रहेका छन्।

जिल्लामा सात सय ६६ स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन्।

जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक हजार पाँच सय ३६ जना निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।