Monday, July 27

भारतका रेडियोबाट चुनाव प्रचार गर्न नदिन निर्वाचन आयोगको पत्र

नेपालअखबार, काठमाडौं । निर्वाचनका क्रममा उम्मेदवारहरुले भारतीय सीमावर्ती क्षेत्रबाट गर्ने प्रचारप्रसार रोक्न निर्वाचन आयोगले भारतमा पत्राचार गरेको छ ।

Advertisement

आयोगले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाएर स्थानीय एफएमहरुबाट उम्मेद्वार र दलहरुको प्रचारप्रसार गर्ने सामग्री प्रसारण नहुने व्यवस्था गर्न चिठ्ठी लेखेको हो ।

Advertisement
Advertisement

निर्वाचनका बेलामा भारतीय सीमावर्ती जिल्ला र निर्वाचन क्षेत्रका उम्मेद्वारहरुले त्यहाँका सञ्चार माध्यमहरुमा प्रचारप्रसार गर्ने चलन थियो । त्यसैलाई दृष्टिगत गरी विदेशी सञ्चारमाध्यममा निर्वाचन प्रचारप्रसारमा रोक लगाउने आचारसंहिता बनेको र त्यसै अनुसार पत्राचारसमेत भएको निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले बताए ।

Advertisement

‘निर्वाचनका दौरान नेपालका कुनै पनि दल र उम्मेद्वारहरुको प्रचार-प्रसारसम्बन्धी सामग्री प्रशारण नहुने व्यवस्था गरिदिन आयोगले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरेको हो’ उनले भने, ‘पत्राचार अनुसार भारतलेसमेत स्थानीय एफ.एम. स्टेशनहरुलाई पत्राचार गरेर निर्वाचन प्रचारप्रसारका सामग्री नबजाउन अनुरोध गरेको हो ।

निर्वाचन खर्च विवरण जानकारी नहुने, नेपालबाट निगमन र अनुगमन हुन नसक्ने भन्दै निर्वाचन आयोगले नेपालसँग सीमा जोडिएका भारतीय शहर र बजारमा स्थापित एफ.एम स्टेशनहरुबाट प्रसारण हुने प्रचार-प्रसारका सामग्रीलाई चुनौतीका रुपमा लिने गरेको थियो । त्यसैका लागि पत्राचार भएको उपसचिव भट्टराईले बताए ।

निर्वाचनको मिति नजिकिदै गर्दा प्रचार-प्रसार तीव्र हुने अनि शून्य समयमासमेत हुने प्रचारप्रसारलाई नेपालबाट नियमन गर्न नसकिने भन्दै आयोगले भारतमा पत्र पठाएको हो । भारत सरकारले पनि त्यहाँको निर्वाचनका बेलामा हुने प्रचारप्रसारजन्य सामग्री रोकिदिन अनुरोध गर्दै नेपालमा पत्र पठाउने गर्छ । र, सरकारले सञ्चार मन्त्रालयमार्फत त्यसको कार्यान्वयन गर्छ ।