Monday, August 3

नागरिकता र राहदानी वितरण स्थगित

नेपालअखबार, रसुवा। कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ।

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ।

Advertisement
Advertisement

प्रशासनले सार्वजनिक सूचनामार्फत् नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरण लगायतका सबै सेवा आजदेखि आगामी मंसिर ४ गतेसम्म बन्द भएको जनाएको छ।

Advertisement

निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न स्थानीय प्रशासन अह्रोरात्र तल्लीन रहेको र निर्वाचन कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।

जिल्लाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेना विष्णुु दल गणले गस्ती कार्यलाई निरन्तरता दिइरहेका छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ विष्णुदल गणले निकुञ्ज क्षेत्रमा गर्नुपर्ने आफ्नो जिम्मेवारीका साथसाथै स्थानीय प्रशासनको आदेशमा विविध सुरक्षा सेवासमेत प्रदान गर्दै आएको छ।

आसन्न निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ। जिल्लाका ५२ मतदान केन्द्र रहेका छन्। रासस