Sunday, April 19

पोखरा महोत्सव पुस २७ गतेदेखि हुने

नेपालअखबार, पाेखरा । पोखरा महोत्सवको ११ संस्करण अमरसिंह चोकमा पुस २७ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लब आयोजनामा हुने पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिका बेटर हो एप्लायन्स हो ।

सह प्रायोजक रारा तयारी चाउचाउ गरेको छ । पर्यटन प्रवर्द्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक सुनारले बताए । उनका अनुसार महोत्सवले शिक्षा, स्वास्थ्य, खेलकुद,  पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणको क्षेत्रमा काम गरेको बताए । १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल हुनेछन् ।

Advertisement

अहिलेसम्म सम्पूर्ण स्टलहरू बुकिङ भइसकेको क्लबले जनाएको छ ।  महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरूको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरूको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ संस्थाहरूको सेवा बारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरूको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवर्द्धनका सामाग्रीहरूको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरूको जानकारी, सामाजिक संस्थाहरूको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतीसँगै कृषिका गतिविधिहरू सञ्चालन गरिने क्लबले जनाएको हो ।

महोत्सवमा प्रति टिकट उठ्ने पैसाले सेती नदी संरक्षण अभियानलाई छुटाइने क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । उनका अनुसार क्लबले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति कोष स्थापना गरिएको सुनाए ।