Tuesday, May 5

एकीकृत समाजवादीको पोलिटव्युरो बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ ।

एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको एकीकृत समाजवादीका उममहासचिव तथा प्रचार विभाग प्रमुख  जगन्नाथ खतिवडाले बताउनु भयो ।

Advertisement

“ स्थायी कमिटी बैठक सकिएको छ । तर उल्लेख्य केही निर्णय भएन । पोलिटव्यरोको बैठकपछि मात्रै केही विषयहरू बाहिर आउलान्”, खतिवडाले बताउनु भयो । अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारेमा समेत पोलिटब्युरो बैठकमा छलफल गरिने बताईएको छ ।

“वाम दलहरूलाई एकैठाउँमा उभ्याउनका निम्ति हामीले अग्रसरता लिने भन्ने छ । अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन । सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि  पोलिटब्युरो बैठकले नै टुङ्गो लगाउनेछ,” प्रवक्ता खतिवडाले भन्नुभयो।

बैठकमा मिश्रित प्रतिक्रिया आएपछि एकीकृत समाजवादीले पोलिटब्युरो बैठकबाट निर्णय लिने भएको बताइएको छ  ।   त्यहाँबाट आएको सुझावका आधारमा निर्णय हुने बताइएको छ   ।’ एकीकृत समाजवादीले सोमबार ११ बजे पोलिटब्युरो बैठक बोलाएको छ ।