Thursday, July 16

अध्यक्ष नेपाल : विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिने

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन्।

Advertisement

सरकार कुन ढंगले अगाडि बढ्छ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो। शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राखे।

Advertisement
Advertisement

‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ। जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नुपर्छ,’ उनले भने।

Advertisement

अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे। उनले इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताए।

अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि  तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए। अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढ्ने उनले बताए।

‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन। व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो। म प्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो। सद्‌भाव राख्नेहरू सबैलाई धन्यवाद छ। भावना राम्रो हुनु आफ्नो ठाउँमा छ। तर त्यो भावना निजात्मक भईदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ’, उनले भने, ‘त्यसकारण तपाईहरूले भनेजस्तो कुनै ठोस कुराहरु भएका छैनन् । जुन गाउँ जानु छैन । जब कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अव यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं।’

अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताको इस्यूलाई उठान गरेर अघि बढने काममा आफ्नो पार्टीको ध्यान जाने पटकपटक दोहोर्‍याए।

‘हामी अव पार्टी निर्माण गर्ने अभियानमा जुटने हो । पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापी अभियान लिएर अघि बढछौं । हाम्रो फोकस भनेका जनताका इस्यूहरु, राष्ट्रका इस्यूहरु उठान गर्ने कुरामा केन्द्रित हुनेछ । र, एउटा राम्रो पार्टी, क्रान्तिकारी र अरु भन्दा भिन्न पार्टी निर्माण गरेर जनताको आशा भरोसाको रुपमा अघि बढनुपर्छ भनेर हामीले पहिला पनि संकल्प गरेको थियौं। विद्रोह पछि पार्टी निर्माण गरेपछि एक पछि अर्को निर्वाचनमा होमिनु पर्‍यो । निर्वाचनको क्रम सकिएपछि अव हामीसँग समय छ। देशव्यापी रुपमा जुन हाम्रो शक्ति छ । संगठन छ । त्यो शक्ति र संगठनलाई राम्रो ढंगले व्यवस्थित गर्नेछौं’, उनले भने।