Saturday, April 18

आगोले पोलिएका वृद्धको उपचारमा समस्या

पुस १५ गते बिहानको साडे १० बजे तिर गुहारगुहार भन्ने आवाज आयो । बारपाक सुलिकोट गाउँपालिका–७ अमलेका मानिसहरु हतारिएर स्थानीय तुला गुरुङको घर तिर दौडिए ।

छिमेकीहरु पुग्दा गुरुङको जिउमा ह्र्वाह्वाती आगो बलिरहेको थियो । ‘म उहाँकै माथिल्लो घरमा गफ गरेर बसिरहेको थिएँ । एक्कासी गुहार मागेपछि हामी त्यहाँ पुग्यौं’ स्थानीय ज्ञानेन्द्र गुरुङले भने ‘उहाँले लगाउनुभएको ज्याकेट सबै आगोले पोलिसकेको रहेछ हामी सबै भएर आगो निभाऔं, आगो निभाउने क्रममा मेरो पनि दुबै हात जलेको छ ।’

Advertisement

७५ वर्षका गुरुङको घरमा कोही छैन् । उनले बिवाह समेत नगरेका गुरुङको दाजुभाइ र आफन्त पनि छैनन् । ‘पहिले उहाँलाई गोरखा हस्पिटल लगियो, यहाँ हुँदैन भरतपुर लैजानु भन्नुभयो’ ज्ञानेन्द्रले भने ‘त्यसपछि अहिले ६ दिन भयो सिएमसीमा राखेको छ । मेरो पनि हात पोलिएको हुनाले आफ्नो उपचार गर्दै उहाँको हेरचाह गरिरहेको छु ।’

गुरुङको अहिले पोलिएको छाला हटाउने काम भइरहेको उनले बताए । सरकारले दिएको वृद्धभत्ता र छरछिमेकी÷गाउँलेसँग मागेर उनको गुजार चलेको थियो । आर्थिक रुपमा निकै विपन्न गुरुङको उपचारमा समस्या भएको छ । उनको उपचारका लागि १ लाख भन्दा बढि रकम चाहिने चिकित्सकहरुले बताएका छन् ।

‘उहाँको आफ्नो भन्ने नै कोही छैन्, मागेर गुजारा खाने मान्छेसँग उपचार गर्ने यत्रो पैसा हुने कुरै भएन’ स्थानीय मण्डली युवा क्लवका अध्यक्ष दिर्घमान गुरुङले भने ‘त्यसले उहाँको उपचारका लागि सहयो संकलन सुरु गरेका छौं ।’ क्लवको अगुवाईमा रकम संकलन सुरु गरिएको छ ।

देश विदेशबाट अहिलेसम्म ३५ हजार रकम सहयोग गर्ने प्रतिवद्धता आएको दिर्घमानले बताए । गुरुङको उपचारमा सहयोग गरिदिन क्वलले सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *