Saturday, July 4

मन्त्री किराँती र राईसँग ‘गेसो’का प्रतिनिधिद्वारा भेटवार्ता

नेपालअखबार, काठमाडाैं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईसँग भेटवार्ता गरेको छ।

Advertisement

सभापति कृष्णकुमार राई नेतृत्वको गेसो प्रतिनिधिमण्डल आइतबार मन्त्री किराँती र मंगलबार मन्त्री राईलाई भेट्न उनीहरुकै कार्यकक्षमा पुगेको थियो।

Advertisement
Advertisement

भेटमा गेसोको टोलीले मन्त्रीहरूलाई बेलायत तथा नेपालबीच जारी सरकारस्तरीय वार्ता सफल निष्कर्षमा पुर्‍याउन माग गरेको छ।

Advertisement

गेसो सभापति राईले मंगलबार एक वक्तव्य जारी गर्दै गोर्खा वार्ता सफल पार्न आवश्यक भूमिका खेलिदिन दुवै मन्त्रीलाई आग्रह गरेका थिए।

बेलायतले गोर्खा सैनिकहरुमाथि सदियौँदेखि गर्दै आएको विभेद अन्त्यका लागि गोर्खाहरु समेतको सहभागितामा बेलायत र नेपाल सरकारबीच भइरहेको वार्ता सार्थक पार्न आवश्यक प्रभावकारी भूमिकाको लागि मन्त्रीहरुलाई आग्रह गरिएको सभापति राईले जानकारी दिए।

सभापति  राईका अनुसार त्यसअवसरमा मन्त्रीद्वय किरांती र राईले पूर्व गोर्खा परिवारका सदस्यका रुपमा आफूहरु पनि गोर्खाको समस्याबारे जानकार रहेको बताएका थिए।

उनीहरुले जारी गोर्खा वार्तालाई आफ्नै कार्यकालमा सफल निष्कर्ष दिने गरी पहल गर्ने प्रतिवद्धता समेत गरेका थिए।

भेटवार्तापछि विज्ञप्ति जारी गर्दै गेसोले भनेको छ- सन् १८१६ देखि आजसम्मको प्रत्येक सैन्य मोर्चामा ब्रिटिश साम्राज्यको तर्फबाट गोर्खाले पहिलो र दोस्रो विश्व युद्धलगायत अन्य क्षेत्रीय युद्वको अग्रपंक्तिमा रहेर बेलायती सेनाको तर्फबाट विश्वमा शान्ति, स्वतन्त्र, प्रजातन्त्र र मानवअधिकार स्थापित गर्न युद्धमा भाग लिएका थिए।

त्यस अवधिमा गोर्खा सैनिकहरुले १३ वटा भिक्टोरिय क्रस, दुई वटा जर्ज क्रसलगायत अन्य सयौंको संख्यामा बहादुरीका तक्माबाट गोर्खा सैनिकहरु विभुषित भएका थिए। जसमा हजारौं पुर्खाहरु मारिए, घाइते, अपांग र बेपत्ता पनि भएका थिए।

विश्वले शान्ति पायो भने बेलायत कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा स्थापित भयो र विश्वमा सर्वशक्तिमान राष्ट्र बन्न सफल भयो।

‘यत्रो युद्ध लडेवापत हाम्रो राष्ट्रले के पायो र के गुमायो,’ गेसोको ज्ञापनपत्रमा प्रश्न सोधिएको छ।

दुई सय वर्षदेखि गोर्खाहरुले भोग्दै आएको अन्याय र विभेद विरुद्ध गेसो करिब ३ दशक देखि आन्दोलनमा छ।