Saturday, July 4

गोरखाबाट जफत भएको १८३ किलो कुड्की गायव

नेपालअखबार, गोरखा । २०७८ साल मंसिर २२ गते धार्चे गाउँपालिका माछाखोलाबाट अवैध रुपमा ल्याइएको ५ सय २३ किलो कुड्कीसहित प्रहरीले मान्छे पक्राउ गर्‍यो ।

Advertisement

पक्राउ परेका ग्याल्जेन लामाबिरुद्ध मुद्दा चल्यो र विगोको दोब्बर जरिवाना रकम तिरेर उनी छुटे । प्रहरीले जफत गरेको ५ सय २३ किलो कुड्की मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को कार्यालय गोरखामा बुझायो ।

Advertisement
Advertisement

एमक्यापले कोठा भाडामा लिएर कुड्की भण्डारण गर्‍यो । लिलाम बिक्रीका लागी मंसिर महिनामा सुचना प्रकाशित गर्‍यो । तर निवेदन परेन । चौथो पटक प्रकाशित सूचनापछि मात्रै धार्चे गाउँपालिका-५ स्थित जुङकाङ जडिवुटी तथा कृषि पशुपंक्षी प्रालिको निवेदन पर्‍यो र स्वीकृत भयो ।

Advertisement

प्रालिका संचालक मानबहादुर गुरुङले बिहीवार ५ सय २३ किलो कुड्कीका लागि प्रति केजी ७ सय ११ रुपैयाँका दरले तीन लाख ७१ हजार ८५३ राजश्व बुझाए । तर कुड्की लिने बेला ३ सय ४० केजी मात्र देखियो । १ सय ८३ केजी कुड्की कता हरायो भनी उनी आफै चकित परे ।

‘५ सय २३ किलो छ भनेर त्यही अनुसारको राजश्व तिरे,’ उनले भने, ‘पैसा तिरेर आएपछि सामान जोख्दा ३ सय ४० केजी मात्र रहेछ ।’ एक लाख ३० हजार रकम बढी तिर्नुपरेको भन्दै उनले त्यो रकम फिर्ता गर्न वा राजश्व तिरे अनुसारको कुड्की उपलब्ध गराउन माग गरेका छन् । कार्यालयबाटै आफू ठगिएको भन्दै उनले गुनासो समेत गरे ।

यता गोरखा प्रहरीले ५ सय २३ किलो कुड्की एमक्यापको कार्यालय गोरखामा पठाएको बताएको छ । जिल्ला प्रहरी प्रमुख एसपी केदार खनाल भन्छन्, ‘हामीले ३२ बोरा बरामद गरेका हौ, जोख्दा ५ सय २३ किलो नै थियो, त्यो सबै एमक्यापको कार्यालयमा जस्ताको तस्तै पठाएका हौ ।’

एमक्याप भने आफूहरुले पुनः तौल नलिएको बताउँछ । ‘५ सय २३ किलो भनेर प्रहरीले दिएपछि हामीले फेरी तौल लिने काम गरेनौ, जस्ताको तस्तै कोठामा राख्यौ,’ एमक्यापका गोरखा प्रमुख पशुपति अधिकारीले भने, ‘लाने बेलामा उहाहरुले जोख्दा पो कम भयो भन्ने थाहा भयो ।’ बोरा ३२ वटै भएपनि तौल कम भएको उनले बताए ।