Saturday, May 30

टर्की भूकम्प: प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान टर्कीमा गएको भूकम्पमा परी दर्जनौं मानिसको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्- टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु।

Advertisement

स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। सयौं मानिसहरू घाइते भएका छन्।

सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भत्किएका छन्।

टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्‍याएको छ।

लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ। अहिलेसम्म २० भन्दा बढी परकम्प आइसकेको बताइएको छ। तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो।