Sunday, April 19

रवि लामिछानेको राहदानीबारे जाहेरी प्रहरीले दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा निवेदन

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ।

मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्व-उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन्।

Advertisement

उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन्। सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले पनि निवेदन आएको पुष्टि गरे।

‘निवेदन आएको छ। तर मैले हेर्न पाइसकेको छैन,’ उनले भने।

लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानीजानी झूटो विवरण दिएर राहदानी लिने कसूर गरेको भन्दै पौडेलले परिसरमा जाहेरी दिएका थिए।

पौडेलले गत माघ १७ गते नयाँ राहदानी समेत जारी नगर्ने गरी कसूरको अनुसन्धान र कारबाही गरी पाऊँ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ताका लागि पेश गरेका थिए। तर प्रहरीले उक्त जाहेरी दर्ता नगरेको उनले बताए।

उनले ५ वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाएर कारबाही गर्न माग गरेका छन्।

‘जाहेरी दर्ताको लागि पेश गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदाहुँदै पनि सत्ता शक्तिको कारण जाहेरी दर्ता नगरेकाले यो उजुरी दर्ताको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको नाममा आदेश जारी गरी दिन निवेदन पेश गरेको छु,’ उनले दिएको निवेदनमा भनिएको छ।

परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले यस सम्बन्धमा अनुसन्धान भइरहेको बताए।

‘जाहेरी आएको छ। लिएर मिसिलमा संलग्न गरी राखेका छौं,’ उनले भने, ‘जाहेरी त किन नलिनु, मिसिलमा अनुसन्धान चलिरहेको छ। हामीकहाँ आएका सूचनाहरू पनि संकलन गरिरहेका छौं।’