Friday, July 3

सांसदले स्वार्थ बाझिने संसदीय समितिमा बस्न नपाउने

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरु स्वार्थ बाझिने संसदीय समितिको सदस्य हुन नपाउने भएका छन् ।

Advertisement

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको छलफलमा सांसदहरु स्वार्थ बाझिने संसदीय समितिमा सदस्य हुन नपाउने व्यवस्था राख्न सहमत भएका छन् । यसअघि निजी विद्यालय सञ्चालक सांसद शिक्षा समितिमा, बैंकका अध्यक्ष सांसदहरु अर्थ समितिमा रहँदा स्वार्थ बाझिएको भन्दै आलोचना भएको थियो ।

Advertisement
Advertisement

तर नेकपा एमालेका संसदीय दलका उपनेता, नियमावली मस्यौदा समितिका सदस्य सुवास नेम्वाङका अनुसार यसपटक प्रतिनिधिसभा नियमावली २०७९ मा ‘स्वार्थ बाझिने सांसदलाई सम्बन्धित समितिमा राखिने छैन’ उल्लेख गर्ने समझदारी भएको छ ।

Advertisement

दलहरुले आफ्ना सांसदहरुलाई कुन समितिमा रहने भनी रोज्न लगाउने अभ्यास छ । त्यस अनुसार दलले नै कुन सांसद कुन समितिमा रहने भनेर तय गर्ने अभ्यास पनि छ ।

तर, विगतमा यस्तो गर्दा सांसदहरुले आफ्नो स्वार्थ बाझिने समिति रोज्ने गरेको पाइएको एमालेका सांसद लिलानाथ श्रेष्ठ बताउँछन् । ‘म पहिले विकास तथा प्रविधि समितिमा थिएँ । त्यहाँ ठेकेदार नै ठेकेदार थिए’ श्रेष्ठले समिति बैठकमा सुनाए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले स्वार्थ बाझिने संसदीय समितिमा रहेर सांसदहरुले आफू अनुकुल कानुनहरु नै बनाएको बताए । ‘स्वार्थ आएको मात्रै छैन् । आएर, पसेर ऐन पास गरेर, स्वार्थ पुरा गरेको जनताहरु भन्छन्’ पाण्डेले समिति बैठकमा भने । नियमावलीमै स्वार्थ बाझिने सांसदले संसदीय समितिमा रहन नपाउने उल्लेख गर्दा त्यसको सकारात्मक प्रभाव पाण्डे बताउँछन् ।

तर, स्वार्थ बाझिएको छ वा छैन भनेर निक्र्योल कसले गर्ने भन्नेबारे नियमावली मस्यौदा समितिका सदस्यहरु प्रष्ट छैनन् । कुनै संसदीय समितिमा आफ्नो स्वार्थ बाझिाएको पुष्टि गर्न कुनै पनि सांसदले चुनौती दिए कसरी निराकरण गर्ने भन्ने अन्योल नै छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक स्वार्थ बाझिने समितिमा रहन नपाए पनि स्वार्थ बाझिने विषयमाथि संशोधन हालेर कानुन निर्माणमा सहभागिता जनाउन सक्ने बताए । स्वार्थ बाझिने भन्नुको अर्थ प्रष्ट गर्न सक्दा सांसदहरुलाई रोक्न सकिने उनलाई लाग्छ ।

प्रतिनिधिसभा नियमावलीमा पनि स्वार्थ बाझिने विषयमाथिको छलफलमा सांसदहरु बस्न नहुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १९१ मा सांसदले ‘छलफल र निर्णयमा भाग लिन नहुने’ सम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘कुनै समितिको विचाराधीन विषयसँग कुनै सदस्यको व्यक्तिगत स्वार्थ गाँसिएको भए सो विषयको छलफल र निर्णयमा सो सदस्यले भाग लिन हुँदैन ।’ यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै नियमावलीमा बाध्यकारी व्यवस्था राख्न खोजिएको हो ।