Saturday, July 4

मालपोतको कामकाज एक सातापछि पुनः सञ्चालन

नेपालअखबार, महोत्तरी । महोत्तरी मालपोत कार्यालयको कामकाज बुधबार एक सातापछि पुनः सञ्चालन भएको छ ।

Advertisement

लेखापढी कानुन व्यवसायीहरुको आन्दोलनका कारण गत बुधबारदेखि नै सदरमुकाम जलेश्वरस्थित उक्त कार्यालयको कामकाज ठप्प रहेकामा आजदेखि पुनः सबै कामकाज सञ्चालन भएको कार्यालयका प्रमुख मोहम्मद इजहार आलमले बताए ।

Advertisement
Advertisement

उक्त कार्यालयमा आबद्ध करिब दुई सय लेखापढी कानुन व्यवसायी (लेखनदास)हरुले सेवाग्राहीहरुलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायत सबै कामकाज बुधबारदेखि नै ठप्प परेका कारण एक सातासम्म कार्यालय बन्द थियो ।

Advertisement

गत बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि लेखापढी व्यवसायीहरुले पक्राउ परेकाहरु पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि शुक्रबार प्रहरीले उनीहरुलाई रिहा गरेको थियो । तर पनि लेखनदासहरुले उनीहरुमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, कार्यालयमा निर्बाधरुपमा लेखापढी व्यवसायीहरु आउजाउ गर्न पाउनुपर्ने र प्रहरीले कोही कसैलाई समात्न नपाउने भन्दै काममा फर्किएका थिएनन् ।

यसैबीच आन्दोलनरत लेखनदासहरु र कार्यालयबीच मङ्गलबार साँझ सहमति भएपछि सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगित गरी आजदेखि मालपोतको सम्पूर्ण कामकाज सञ्चालन भएको लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष श्यामसुन्दर यादवले बताए ।

प्रहरीले गत बुधबार दिउँसो कार्यालयको प्राङ्गणमा सेवाग्राहीहरुलाई हाकिम, कर्मचारीहरुसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाई गरिरहेको अवस्थामा पाँच बिचौलियालाई पक्राउ गरेको थियो तर लेखनदासहरुले उनीहरु बिचौलिया नभएर आफ्ना कानुन व्यवसायी रहेका र उनीहरुलाई छाड्नुपर्ने भन्दै आन्दोलन चर्काएर एक सातासम्म कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेका थिए । रासस