
नेपालअखबार, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषदको पूर्णताबारे चासो देखाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकमा एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचबारे चासो देखाएका हुन्। उनले मन्त्रिपरिषदको पूर्णताबारे समेत कुरा राखेका थिए। ओलीको चासोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट जवाफ नदिएको स्रोतले बतायो।
‘आज राष्ट्रपतिको निर्वाचन अनि मन्त्रिपरिषदको पूर्णताबारे छलफल भयो। जनजीविकाका विषयमा समेत कुराकानी भयो। तर कुनै निष्कर्ष आएन,’ स्रोतले भन्यो,‘रास्वपाको सरकारमा पुनः सहभागितबारे समेत छलफल भयो। तर केही विषयमा विस्तृतमा कुराकानी भएन।’
रास्वपाले सरकार छोडेसँगै ५ ओटा मन्त्रालय खाली भएका छन्। रास्वपाले लिएका गृह, शिक्षा र श्रमसहित युवा तथा खेलकुद र वन मन्त्रालयमा मन्त्री छैनन्।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा एमालेले आफ्नो उम्मेदवारका लागि सहमति गर्न दबाब दिएको छ। तर प्रचण्डले भने सहमतिको उम्मेदवार तय गर्नुपर्ने बताउँदै आएका छन्। उनी राष्ट्रपतिको विषयमा खुलेका छैनन्।
आजको बैठकमा जसपा भने सहभागी भएको थिएन। आफू जनकपुर भएको र भर्खरै मात्र काठमाडौं आएकाले बैठकमा सहभागी नभएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए।
‘मलाई बैठकमा बोलाइएको थियो। म जान नभ्याएको हो। तर अहिले गठबन्धन जसरी गइहरेको छ, यस्तो तरिकाले हुँदैन,’ उनले भने,‘हामीले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भनेर भनेका छैनौं। सहमति गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो।’
जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरू संयन्त्रमा नरहेको बताए।
‘हामीलाई सत्ता गठबन्धनको बैठकमा मात्र बोलाइन्छ। संयन्त्रको बैठकमा बोलाइन्न,’ उनले भने,‘कसरी अघि बढ्ने भनेर सत्ता गठबन्धनमा कुराकानी भएको छैन। सहमतिका लागि छलफल होला।’

