
नेपालअखबार,मुस्ताङ। जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तर घट्न थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि अध्ययन थालिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोम र लोमान्थाङ कार्यालयले चरन क्षेत्रको अवस्था अध्ययन गर्नुका साथै घाँसका नमूना संकलन गरिरहेका छन्।
एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीका अनुसार हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका चार क्षेत्रमा अध्ययन भइरहेको छ।
तल्लो मुस्ताङमा क्यामेरा जडान गरिएका एक र उपल्लो मुस्ताङमा तीन क्षेत्रमा चरन तथा घाँसको अध्ययन भइरहेको उनले जानकारी दिए।
संकलित नमूनाबाट चरन क्षेत्रको अवस्था, घाँसका प्रजाति र विविधता, जैविक पदार्थको मात्रा तथा पोषण तत्त्व मापन गरिनेछ।
तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा १० वर्गमिटरका खण्ड बनाएर प्रत्येकभित्र एक वर्गमिटरका उपखण्ड निर्धारण गरी नमूना संकलन भइरहेको छ।
वारागुङ मुक्तिक्षेत्रमा १५ र घरपझोङमा ९ गरी २४ वटा खण्ड तथा तिनका ४८ उपखण्डबाट नाउरले खाने घाँसको नमूना लिइँदै छ।
वारागुङ मुक्तिक्षेत्रका साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङलगायत उच्चलेकका चरन क्षेत्रबाट नमूना सङ्कलन भइरहेको थकालीले बताए।
क्यामेरा जडान गरिएका क्षेत्रमा एउटा खण्डदेखि अर्को खण्डसम्म कम्तीमा ५०० मिटर दूरी कायम गरेर नमूना लिइएको उनले जानकारी दिए।
त्यसैगरी, उपल्लो मुस्ताङमा एक्याप लोमान्थाङले क्यामेरा जडान गरिएका तीन क्षेत्रमा चरन तथा घाँसको गुणस्तर मापन गरिरहेको छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १५० वटा खण्डबाट नमूना सङ्कलन भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए।
हिउँ चितुवाको अध्ययनका लागि निर्धारण गरिएका तीन क्षेत्रमा पाँच वर्गकिलोमिटरको जाली संरचनाभित्र पर्ने चरन क्षेत्र समेटेर नमूना लिइएको छ।
घाँसले ओगटेको क्षेत्रका आधारमा प्रत्येक खण्डबाट ४० देखि ५० वटासम्म नमूना सङ्कलन गरिने पौडेलले जानकारी दिए।
अध्ययनका क्रममा हरियो र सुकेको घाँसको तौलसमेत मापन गरिनेछ। सङ्कलित नमूना प्रयोगशालामा पठाएर पोषण तत्त्व र गुणस्तर परीक्षण गरिने उनले बताए।
यसबाट नाउरका लागि उपलब्ध घाँसको मात्रा र गुणस्तर थाहा पाउन तथा चरन क्षेत्र सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हिउँ चितुवाको मुख्य आहारा नाउर हो।
त्यसैले नाउरका लागि उपलब्ध आहाराको गुणस्तर र परिमाणले उसको शारीरिक अवस्था, मोटोपन र प्रजनन क्षमतामा पार्ने प्रभावसमेत अध्ययन गरिने पौडेलले बताए। नाउरको संख्या बढाउन चरन क्षेत्र सुधार र घाँसको गुणस्तर वृद्धि गर्नुपर्ने उनको भनाइ छ।
पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण उच्चलेकका पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्या देखिएका छन्। यसले नाउरको आहारा र बासस्थानमा असर पारेको छ।
गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेका छन्।
यसले स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणमा पर्ने जोखिम बढाएको छ। यसरी चरन क्षेत्रको अवस्थाले नाउर र हिउँ चितुवाको संरक्षणसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वमा पनि असर पार्न थालेको छ।
चरन क्षेत्रमा गुणस्तरीय घाँसको उपलब्धता बढाउनुका साथै चरिचरनलाई व्यवस्थित र सन्तुलित बनाउन सके नाउरको संरक्षणमा सहयोग पुग्नेछ।
यसले हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम राख्नसमेत मद्दत गर्ने अपेक्षा गरिएको छ।




