Friday, July 3

हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द

नेपालअखबार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ ।

Advertisement

हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।

Advertisement
Advertisement

द्रुत गतिमा निर्माण सम्पन्न गर्न सडक बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए ।

Advertisement

वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडक र काठमाडौंबाट हेटौंडा फर्किंदा कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको उनले बताए । उनले सर्वसाधारणलाई यही वैकल्पिक सडक प्रयोग गर्न अनुरोध पनि गरेका छन् ।

मन्त्रालयले यो सडकखण्ड अन्तर्गत भैंसे–भिमफेदी खण्ड, हेवी–कलंकी–हुमाने खण्ड, हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डको ठेक्का लगाएर निर्माणको कार्य गरिरहेको छ । यसअघि भिमफेदी कुलेखानी खण्डको निर्माण सम्पन्न भइसकेको छ ।

यो सडक बागमती प्रदेश सरकारका मन्त्रीहरु प्रदेश सरकारका सचिवहरु, कर्मचारीहरु र सरकार सञ्चालन गर्ने अरु संघ र प्रदेशका व्यक्तिहरु संघीय राजधानीसम्म ओहोर–दोहोर गर्ने प्रमुख मार्ग हो । ठेक्का लागेर पनि समयामा नै निर्माणको काम नसकिंदा सडकको दुरावस्थाले गर्दा प्रदेश सरकारको आलोचना हुँदै आएको छ ।

एकसाता अघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सडकको अवस्थाबारे चासो लिँदै सरोकारवालासँग छलफल गरेका थिए ।

छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, प्रदेश मन्त्रालयका सचिवहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, आयोजना कार्यालयहरु, टाटा सुमो यातायात समितिहरु, निर्माण व्यवसायीहरु सहभागी थिए ।