Saturday, April 18

राष्ट्रियसभा सदस्यका लागि आज चुनाव हुदै

 राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहीबार हुँदैछ ।

कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

Advertisement

निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि बुधबार साँझसम्म पुगिसकेका छन ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश: मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

उक्त निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।

को–कसको पूरा हुँदैछ कार्यकाल

राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।

उनीहरुमा सरिता प्रसार्इं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *