Sunday, April 19

हज यात्राका लागि निवेदन खुला

नेपालअखबार, काठमाडाैं ।  काठमाडौं । नेपाल हज समितिले सन् २०२३ को हज यात्रामा जान चाहनेका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी साउदी अरबले कोटा पठाएको छ ।

उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले नेपाल हज समितिको सचिवालयको वेव साइट nepalhajj.moha.gov.np मा रहेको हज आवेदन फारम डाउनलोड गरी गरी फारम भर्नु पर्नेछ ।

Advertisement

गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ ।

हज यात्राका लागि पहिलो किस्तावापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ।

निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको फोटोकपी, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी आगामी चैत ४ गतेसम्म पेस गर्नुपर्नेछ। सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।