Tuesday, April 21

स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ हुन्छ- प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुनेगरी ऐनहरु तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दावी समेत गरे।

Advertisement

शुक्रबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा बोल्दै उनले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुनेगरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्नेगरी अगाडि बढन प्रतिष्ठानलाई निर्देशन दिए।

प्रधानमन्त्री दाहालले विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गरी मुलुकको समृद्धिको यात्रालाई सुनिश्चित गर्न सरकार लागि परेको उल्लेख गर्दै त्यसमा स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवम सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरुरी रहेको बताए।

‘वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको छ। चुनौतिपूर्ण अवस्थामा रहेको राजनीति र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न देशका सम्पूर्ण विकास आयोजनाहरु तोकिएको गुणस्तर र तोकिएकै समयमा निर्माण सम्पन्न गरी समृद्धिको यात्रालाई तीव्रता दिन सरकार दृढ संकल्पित छ’, उनले भने, ‘सरकारको यस प्रयासमा प्रतिष्ठानको नेतृत्व, आवद्ध चिकित्सकहरु, कर्मचारीहरु, आम सरोकारवाला निकाय र व्यक्तित्वको रचनात्मक एवम् सकारात्मक प्रयास, सहयोग र प्रतिवद्धता जरुरी छ।’

‘२०७२ सालमा जारी नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रुपमा प्रत्याभूत गर्दै समाजवाद उन्मुख स्वास्थ्यको संकल्प गरेको छ। संविधानमा व्यवस्था भए बमोजिम स्वास्थ्य सम्बन्धि हकको व्यवहारिक अभ्यासनका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक छ’, उनले भने, ‘वर्तमान सरकार संविधानमा व्यवस्था भए बमोजिम ऐनहरु तर्जुमा गरी स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकहरुको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध छ। त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य र पहलकदमी भईरहेको विषय पनि म यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु।’

प्रधानमन्त्री दाहालले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरुको दूरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरुलाई सचेत गराए। उनले जनगुनासो नआउने गरी सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउन पनि सरकारी अस्पतालहरुले जोड दिनुपर्ने बताए।