Saturday, May 9

पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा २ जना पक्राउ

नेपालअखबार, पोखरा । पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको गाईघाट घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ घर भई हाल छोरेपाटन बस्दै आएका २१ वर्षीय लुबहादुर गुरुङ ‘अर्जुन’ छन् ।

Advertisement

उनीहरुमाथि गएराति करिब १२ बजे पोखरा १०, रामबजारस्थित एनआईसी एसिया बैंक तथा साढे १ बजे पोखरा १५, वनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र ४ बजे सोही ठाउँकै सांग्रिला विकास बैंकको एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार उनीहरुले एटीएम मेसिन तोडफोड गर्ने उद्देश्यले ढुंगामुढा, सीसीटीभी क्यामेरालाई समेत कागजले छोप्ने प्रयास गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

‘निजहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ,’ प्रवक्ता खड्काले भने ।

पोखरा महानगरका विभिन्न बैंकमा एक वर्षको अवधिमा दर्जनभन्दा बढी बैंकका एटीएम फोड्ने प्रयास भएका छन् । गत साउन ४ गते पोखराको अर्घौंचोकस्थित एनएमबि बैंकको एटीएम मेसिन फोडेर २ वटा क्यासकेटमा रहेको १४ लाख ७१ हजार रुपैयाँ चोरी भएको थियो ।

एनएमबि बैंकको एटीएम फोडेर फरार रहेका नवलपुरको देवचुली नगरपालिका घर भई हाल पोखरा ३०, डुँडुलेमा बस्दै आएका २१ वर्षीय भेडे भनिने अनिष तामाङलाई पक्राउ गरेको थियो ।

लगातार बैंकका एटीएम मेसिन फोड्ने प्रयास र चोरी नै हुन थालेपछि कास्की प्रहरीले ‘अपरेसन एटीएम हाइस्ट’ नै चलाएको थियो । विभिन्न अनुसन्धान अधिकृत, आईटी विज्ञसहित उक्त अपरेसन टोलीले अनुसन्धानका क्रममा नेपालभरिका एटीएम बुथमा राखिएका एटीएम मेसिनमा भेण्डरकै कमजोरी पत्ता लगाएको थियो ।