Monday, July 13

राष्ट्रपति चुनावका लागि प्रदेशमा खटिए कांग्रेसका पदाधिकारी

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति चुनावको प्रचारप्रसार र प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न नेपाली कांग्रेसले पदाधिकारीहरूलाई प्रदेशमा खटाएको छ।

Advertisement

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो।

Advertisement
Advertisement

कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

Advertisement

यसैबीच कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ।

कांग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा पौडेललाई जिताउनका लागि कांग्रेससहित ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्दैछन्।

यस्तै बिहीबार दिउँसो काठमाडौंमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई ८ दलका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। राष्ट्रपति चुनावमा संघीय संसद र प्रदेश सभा सदस्य मतदाता हुन्छन्। मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई मतदान केन्द्रमा हुनेछ।

राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।