Friday, July 10

चौबीस घण्टा पनि टिकेन कालोपत्रे, अख्तियारद्वारा अनुसन्धान सुरु

नेपालअखबार, नेपालगञ्ज  । बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा असफाल्ट प्रविधिबाट सुरु गरिएको कालोपत्रे चौबीस घण्टा नबित्दै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

Advertisement

कुल ६८ करोड सात लाख ६६ हजार रुपियाँमा निर्माण थालिएको जिल्लाको राप्तीसोनारी–३, नारायणपुर चोकदेखि वडा नम्बर ६, कुण्डा चोकसम्मको २१ किलोमिटर हुलाकी राजमार्ग कालोपत्रे गरेको २४ घण्टा नबित्दै भत्किएको हो। कालोपत्रे सुरु गरेको भोलिपल्टै पक्की राजमार्ग भत्किएपछि स्थानीय बासिन्दाले सोको विरोध गर्दै निर्माण कम्पनी र सरकारी पक्षलाई सचेत गराएका थिए।

Advertisement
Advertisement

सो सडक कालोपत्रे गर्दा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएकाले एक दिनमै कालोपत्रे भत्किएर ठाउँठाउँमा खाल्टाखुल्टी देखिएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छानबिन सुरु गरेको हो। अख्तियारको नेपालगञ्जस्थित सम्पर्क कार्यालयका प्रमुख गणेश अधिकारीले आयोगको टोलीले हुलाकी राजमार्गमा पुगेर अनुसन्धान गरिरहेको बताए।

Advertisement

अनुसन्धानका लागि राप्तीसोनारी गाउँपालिका–३, नारायणपुर चोक पुगेर सडक निर्माणको नमुना सङ्कलन तथा परीक्षण गर्ने काम गरिरहेको छ। हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्जले ६८ करोड सात लाख ६६ हजार ५०९ रुपियाँमा बाँकेको राप्तीसोनारीको नारायणपुरदेखि कुण्डासम्म २१ किलोमिटर राजमार्गमा २०८० मङ्सिरभित्र गुणस्तरीय असफाल्ट गरिसक्ने सर्तसहित एपेक्स खड्का–कृष्ण जेभीलाई ठेक्का दिएको थियो। दुई लेनको सो राजमार्गमा असफाल्टको सुरुवात गरिएको स्थानमै एक दिनपछि हिँड्दा कालोपत्रे भत्किएको देखिएपछि विरोध गरेको स्थानीय हेमन्त चौधरीले बताए ।

राप्तीसोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूले ठेकेदारले गाउँमा जस्तो सडक बनाए पनि हुन्छ भन्ने मनसायले गुणस्तरहीन काम गरिएको बताए। सडक निर्माणको छानबिन गरेर कारबाही गर्ने तयारी पालिकाले गरिरहेको उनले बताए।

उता हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्जले भत्किएको ठाउँमा पुनः नयाँ कालोपत्रे गर्न लगाउने जनाएको छ। सो निर्देशनालयका सब इन्जिनियर निर्मल न्यौपानेले असफाल्ट तयार गर्दा मेसिनमा समस्या भएकाले असफाल्ट गुणस्तरहीन बन्न जाँदा तत्कालै उप्किएकाले पुनः नयाँ बनाउन लगाउने बताए। उनले प्रारम्भिक चरणमा ट्रायल मिक्स अर्थात् असफाल्टको परीक्षण गर्ने क्रममै समस्या देखिएकाले सडकमा सो समस्या देखिएको बताए ।