Saturday, May 23

पीडितद्वारा गौर प्रहरी कार्यालय घेराउ

मेवालाल यादव , रौतहट ।  माैलापुरकाे साेनरनियामा लाठी प्रहारबाट मृत्यु भएकी सुनैना देवीकाे हत्या आरोपमा पक्राउ परेकालाई धराैटीमा रिहा गरेपछि स्थानीयले रौतहटको गौर प्रहरी कार्यालय अगाडि विराेध प्रदर्शन गरेका छन् । ‘दाेषीलाई कारबाही गर’, ‘दाेषीलाइ उम्काउन पाँइदैन’, ‘आदालत तिम्राे न्याय सच्याउ’लगायत नारा लगाउँदै स्थानीयले विराेध प्रदर्शन गरेका हुन् ।

पीडित पनिलाल यादवकाे नेतृत्वमा गएका सयौं स्थानीयले गौर प्रहरी कार्यालय घेराउ गरेका थिए । रौतहटकाे माैलापुर नगरपालिका वडा नं ९ निवासी सुनैना कुमारी देवीकाे गत माघ २५ गते लाठी प्रहारबाट मृत्यु भएको थियाे ।

Advertisement

स्थानीय भोला यादवले निर्घात कुटपिट गर्दा ती महिलाको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । खेतमा जाने बाटोमा शौच गरेको भन्दै झगडा भएको स्थानियहरूले बताएका छन् । खुट्टामा दिसा लागेपछि आक्रोशित भोला यादवले सुनैना देवीको घरमा पुगेर बाँसको लाठीले कुटपिट गरेको प्रहरीले जनाएको थियो ।

गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । स्थानीय पीडकहरू भाेला राय यादव, उमत राय यादव, मधानी देवी र कलावती देवीविरूद्व कर्तव्य ज्यान मुद्दाअन्तर्गत अभियोग दर्ता गरी अनुसन्धान अगाडि बढाइएकाे थियाे ।

तर उनीहरूलाई प्रहरीले आदालतकाे आदेशमा धराैटीमा रिहा गरेपछि स्थानीयहरू आक्राेशित बनेका हुन् । प्रहरीले फितलो अनुसन्धान गरी मुद्दा कमजाेर बनाएका कारण हत्यारा उम्केकाे स्थानीयहरूकाे आराेप छ ।