Thursday, August 27

९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै ‘मिडिया टाइकुन’ रूपर्ट मुर्डक

नेपालअखबार, एजेन्सि। संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय ‘मिडिया टाइकुन’ रूपर्ट मुर्डक आफ्नो व्यक्तिगत जीवनका कारण समाचारमा छाइरहन्छन्।

Advertisement

९२ वर्षीय मुर्डक यसपालि फेरि चर्चामा छन् र यो चर्चा उनको पाँचौं विवाहलाई लिएर भइरहेको छ।

Advertisement
Advertisement

मुर्डकले ६६ वर्षीय एना लिस्ले स्मिथसँग विवाह गर्ने घोषणा गरेको उनको आफ्नै प्रकाशन द न्यूयोर्क पोस्टले उल्लेख गरेको छ।

Advertisement

‘म स्मिथलाई धेरै माया गर्छु,’ मुर्डकले न्यूयोर्क पोस्टसँग भनेका छन्, ‘यो मेरो अन्तिम विवाह हो भन्ने मलाई थाहा छ। हामी दुवै यो सम्बन्धबाट एकदमै खुसी छौं।’

मुर्डकले गत वर्ष मात्र आफ्नौ चौथो पत्नी जेरी हलसँग सम्बन्ध विच्छेद गरेका थिए।

न्यूयोर्क पोस्टसँग कुराकानी क्रममा मुर्डकले आफ्नी पाँचौं पत्नी स्मिथसँगको सम्बन्धबारे भनेका छन्, ‘हाम्रो भेट गत सेप्टेम्बर महिनामा क्यालिफोर्नियामा भएको थियो। त्यसपछि हाम्रो सम्बन्ध बाक्लिँदै गयो। हामी दुवैलाई लाग्यो, हामी एकअर्काको निम्ति ईश्वरका वरदान हौं। त्यसपछि मैले मार्च १७ तारिखमा सेन्ट प्याट्रिक्स डेको दिन स्मिथलाई विवाहको प्रस्ताव राखेँ। उनले सहर्ष स्वीकार गरिन्।’

स्मिथका पूर्वपति चेस्टर स्मिथ गायक थिए। रेडियो तथा टेलिभिजनमा काम गर्ने उनको १४ वर्षअघि निधन भएको थियो।

‘म १४ वर्षदेखि एकल जीवन बिताइरहेकी थिएँ। रूपर्टजस्तै मेरो पति पनि व्यवसायी थिए। त्यसैले रूपर्टको जीवन र भाषासँग म राम्ररी परिचित छु,’ स्मिथले भनेकी छन्, ‘जीवनप्रति हामी दुवैको बुझाइ र मान्यता एउटै छ।’

मुर्डकको अघिल्ला तीन जना पत्नीबाट छ सन्तान छन्।

उनीहरूको विवाह केही महिनामै हुने न्यूयोर्क पोस्टले उल्लेख गरेको छ। त्यसपछि क्यालिफोर्निया, मोन्टाना, न्यूयोर्क र बेलायतमा समय बिताउने उनीहरूले बताएका छन्।

मुर्डकले यसअघि अस्ट्रेलियन विमान परिचारिका प्याट्रिसिया बुकर, स्कटिस पत्रकार एना मन र चिनियाँ उद्यमी वेन्डी डेङसँग विवाह गरेका थिए।