Wednesday, August 26

नेपाली सेनाको संख्या नेपाल सरकारले निर्धारण गर्ने हो: प्रधानसेनापति शर्मा

नेपालअखबार, काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन्।

Advertisement

नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने बताए।

Advertisement
Advertisement

उनले भने, ‘यो कुनै आइएनजिओ/एनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो।’

Advertisement

प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झूटा प्रचारबाट टाढा रहन पनि आग्रह गरे। उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको पनि बताए।

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताए।

प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गरे।

पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत् जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताए।

सैनिक कल्याणकारी कोषमा हाल रु ७३ अर्ब, १३ करोड रकम रहेको र १० लाख हिताधिकारीलाई सो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उनले जानकारी दिए। रासस