Thursday, July 30

कोशी प्रदेश नामकरण विवाद: चैत ५ को घटनाबारे छानबिन गर्न समिति बनाइने

नेपालअखबार, काठमाडाैं । कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Advertisement

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ।

प्रदेश सभाले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो।

प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको थियो।