Monday, July 6

बारा २ मा उम्मेदवारी दिने कि उपेन्द्र यादवलाई छाड्ने आज निर्णय गर्दै कांग्रेस

नेपालअखबार, काठमाडाै । बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।

Advertisement

आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

Advertisement
Advertisement

यो बैठकमा बारा २ मा कांग्रेसबाटै उम्मेदवारी दिने कि जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भन्नेबारे निर्णय हुनेछ।

Advertisement

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यतालिका छ।

कांग्रेसले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जिल्ला कार्यसमितिका पूर्वसभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाइसकेको छ।

बारा २ मा भने जसपा अध्यक्ष उपेन्द्र यादव उठ्ने भएकोले सहयोग गर्ने सम्भावना छ। जसपाबाट उम्मेदवार हुन अध्यक्ष यादवको नाम सिफारिस भएको थियो। गत मंसिरको चुनावमा जसपाकै तत्कालीन नेता रामसहायप्रसाद यादव बारा २ मा विजयी भएका थिए। उनी उपराष्ट्रपति भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो।

यसअघि बसेको कार्यसम्पादन समिति बैठकमा कांग्रेसबाटै उम्मेदवारी दिनुपर्ने केही नेताहरूले माग गरेका थिए। बारा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पनि कांग्रेसबाटै उम्मेदवारी दिनुपर्ने बताइरहेका छन्।

साथै सरकारमा पठाउने मन्त्रीबारे पनि आज छलफल हुन सक्ने एक पदाधिकारीले बताए।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ जनालाई मात्रै मन्त्री पठाएको थियो।

४ जना मन्त्री छान्न बाँकी छ।

सभापति शेरबहादुर देउवासँग नेता शेखर कोइराला पक्षले कम्तीमा ३ मन्त्री आफूहरूले छान्न पाउनुपर्ने अडान राखिरहेका छन्।