गाेरखा । बेलायत भ्रमणलाई लिएर आफ्नो चरित्र हत्याको प्रयास भएको भन्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले दुख ब्यक्त गरेका छन् ।
केहि हप्ताअघि भगिनी सम्बन्ध स्थापनाका लागि औपचारिक कार्यक्रममा सहभागी हुन बेलायतको रशमोर बरो काउन्सिल पुगेका नगरप्रमुख पन्तले केहि अनलाइन समाचारले भ्रम सृजना गर्ने प्रयास गरेको बताएका हुन् ।
शनिबार केहि अनलाइन पोर्टल र सामाजिक सञ्जालहरुमा ‘भगिनी सम्बन्ध गाँस्न बेलायत पुगेका गोरखाका मेयर पन्त हराए’ भन्ने जस्ता शिर्षकमा समाचार संप्रेसण गरेको भन्दै उनले खण्डन गरेका छन् ।
पूर्वनिर्धारित तालिका अनुसार केहि दिनअघि नै रश्मोर काउन्सिलसंग भगिनी सम्बन्ध स्थापनामा हस्ताक्षर भइसकेको र काउन्सिल, राजदुतावास लगायत बिभिन्न संघसंस्थाहरुको कार्यक्रममा सहभागी भइरहेको स्पष्ट पार्दै नगरप्रमुख पन्तले नकरात्मक प्रचार नगर्न अनुरोध समेत गरेका छन् ।
‘आफुखुसी मनगणन्ते शिर्षकमा कुनै भेरिफाइ नगरी स्रोत समेत नखुलाई समाचार प्रकाशित भएको देख्दा टिठ लागेको छ’ सामाजिक सञ्जाल मार्फत खण्डन गर्दै उनले भनेका छन् ‘आधिकारिक निमन्त्रणा समेत नदिईएको कार्यक्रममा अनुपस्थित भएको हल्ला फिजाइएकोमा दुख लागेको छ ।’
बेलायत स्थित नेपाली दुताबासलाई जानकारी नगराई, औपचारीक रुपमा निमन्त्रणा समेत नगरिएको कार्यक्रममा भने सहभागी नभएको उनले बताएका छन् । ‘हामी हाम्रो निर्धारित सबै कार्यक्रममा सहभागी भइरहेका छौ’ पन्तले सिभिलखबरलाई भने ‘निमन्त्रणा नै नभएको कार्यक्रममा मेयर आएन भन्नुको कुनै तुक छैन ।’
आफु गोरखाकै विकास निर्माणको लागि गोर्खालीहरुले आयोजना गर्ने बिभिन्न छलफल कार्यक्रममा सहभागी भइरहेको जानकारी दिदै उनले भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
बेलायतमा हुने नियमित कार्यक्रम सकेर पूर्वनिर्धारित तालिका अनुसार नै स्वदेश फर्कने उनले बताए ।



