Saturday, July 25

एक तोला सुनको लोभमा पूर्वी रूकुममा २ बालिकाको हत्या

नेपालअखबार, रूकुम । पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा बिहीबार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ।

Advertisement

स्थानीय दुई किशोरी ती बालिकाहरूको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।

Advertisement
Advertisement

स्थानीय ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई किशारीलाई पक्राउ गरिसकेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख, डिएसपी अन्जना श्रेष्ठले बालिकाहरूको हत्यामा संलग्न २ जना किशोरी पक्राउ परेका र उनीहरूलाई आइतबार सार्वजनिक गर्न लागिएको बताइन्।

गत बुधबार सिस्नो टिप्न हिँडेका दिदीबहिनी घर नफर्किएपछि परिवार र आफन्तले खोजी गरेका थिए।

बिहीबार बिहान घरबाट २ किलोमिटर पर झुपा खोला भीरमा उनीहरूको शव भेटिएको थियो।

डिएसपी श्रेष्ठका अनुसार हत्या भएका २ बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए। त्यही गहनाकै खोस्न किशोरीहरूले बालिकाको हत्या गरेको हुन सक्ने उनले बताइन्।

‘१४/१५ वर्षका दुई साथीले दुई बालिकालाई जंगलमा एक्लै भेटेपछि कानमा लगाएको सुन खोस्ने योजनाका साथ घाँटी न्याकेर हत्या गरेर भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थप अनुसन्धान हुँदैछ,’ उनले भनिन्।

हत्याको आरोपमा पक्राउ परेका २ किशोरी पनि स्थानीय हुन्। डिएसपी श्रेष्ठका अनुसार उनीहरु स्थानीय विद्यालयमा ६ र ७ कक्षामा पढ्छन्।