Friday, July 3

पर्वत अस्पतालमा जनशक्ति नहुँदा सात भेन्टिलेटर प्रयोगविहीन

नेपालअखबार, पर्वत । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन। कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर जनशक्ति अभावका कारण हालसम्म प्रयोगमा आउन नसकेका हुन्।

Advertisement

गण्डकी प्रदेश सरकारले दिएको एक करोड ६९ लाखको लगानीमा अस्पतालमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो। यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत भेन्टिलेटर उपलब्ध भएका थिए।

Advertisement
Advertisement

तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो। तीन चिकित्सक र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट तालिम लिएका थिए।

Advertisement

तर हालसम्म उनीहरूले सीप प्रयोगमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुक्मिणा अधिकारीले बताइन्।

पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको पर्वत अस्पताल पुरानोबाट नयाँ संरचनामा सारिएको छ। सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो।

त्यो क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा थन्क्याइएका छन्। आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको डाक्टर अधिकारीले बताइन्।

सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एक जना पनि नहुँदा समस्या भएको उनले बताइन्। अहिले २४ नर्सका भरमा अस्पताल चलाउनुपरेको उनले जानकारी दिइन्।

‘यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ,’ उनले भनिन्। कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले सहयोग गरेका थिए।

झन्डै पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखिएका भए पनि बेला–बेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको डाक्टर अधिकारीले बताइन्।

स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका चिकित्सक पठाए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएको अवस्थामा भेन्टिलेटर सञ्चालन गर्न सकिने डाक्टर अधिकारी बताउँछिन्।

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटक–पटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए।

राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पनि पाउन नसकेको उनको भनाइ छ।

अस्पतालमा रहेका स्रोतसाधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने गिरी बताउँछन्।

पर्वत हुँदै पोखरा जानुपर्ने भएकाले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका नागरिकलाई सेवा दिने गरी यसलाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सक्ने हो भने यो क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य पाउने उनकाे दाबी छ।