Saturday, May 30

एनपि साउदले आज परराष्ट्रमन्त्रीको शपथ लिने

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्।

नेपाली कांग्रेसले नेता एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न पत्र पठाएपछि प्रधानमन्त्री प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

Advertisement

परराष्ट्रमन्त्रीमा साउदको शपथ ग्रहणका लागि प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकेका छन्।

आइतबार ३ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।

प्रधानमन्त्री प्रचण्डले यसअघि चैत १७ गते मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसले चार जनालाई मात्रै मन्त्री बनाएको थियो।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

संस्थापन र इतर पक्षबीच मन्त्री भागबन्डामा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।

चैत ३० गते संस्थापन इतर पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएका थिए।

कांग्रेसभित्र सहमति जुटेका कारण वैशाख १० गतेको उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।