Saturday, May 9

सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु

नेपालअखबार, एजेन्सि। उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु भएको छ भने झन्डै १८ सय जना घाइते भएका छन्।

सुडानका सैनिक शासक अब्देल फताह अल-बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का कमाण्डर मोहम्मद हामडान डागालोले एक-अर्काका क्याम्पहरूमाथि आक्रमण गरिरहेका छन्।

Advertisement

अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति भवन, सैनिक मुख्यालयजस्ता महत्वपूर्ण ठाउँ आफ्नो नियन्त्रणमा राख्न अहिले दुबै पक्षले संघर्ष गरिरहेका छन्। राजधानी बाहिरका सहरहरूमा पनि उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गरेका छन्।

सोमबार राजधानी खार्तुमका अस्पतालहरूमा पनि आक्रमण भएका छन्। सुडानका लागि युरोपियन युनियनका राजदूतलाई उनकै निवासमा छिरेर दुर्व्यवहार गरिएको छ।

दुई सैनिक समूहले एक-अर्कालाई आक्रमण गर्न थालेपछि खार्तुमको जनजीवन प्रभावित भएको छ। अस्पतालमा अक्सिजनलगायत अत्यावश्यक कुराको आपूर्ति हुन सकेको छैन।

नागरिकको जीवन अस्तव्यस्त र देशको भविष्य अनिश्चित पार्ने गरी लडाइँ गरिरहेका दुई सैनिक जनरल कुनै बेलाका सहयोगी हुन्। बुरहान र डागालो

सन् २०१९ सम्म एकदमै मिलेका थिए। ठूला ठूला प्रदर्शन हुन थालेपछि त्यही वर्ष उनीहरूले राष्ट्रपति ओमार अल बसिरलाई हटाउनलाई उनीहरूले भूमिका खेलेका थिए।

तीन दशक सुडानको बागडोर सम्हालेका बसिरले डार्फर क्षेत्रमा विद्रोहीलाई दबाउन आरएसएफ गठन गरेका थिए। सुरूमा आरएसएफका प्रमुख डागालो बसिरप्रति पूर्ण बफादार थिए। पछि उनले बसिरको साथ छोडेका थिए।

बसिरको बहिर्गमनसँगै सुडानमा सैनिक र नागरिक सम्मिलित सरकार बनेको थियो।

सन् २०२१ उक्त सरकारलाई अपदस्त गर्दै सेना प्रमुख बुरहानले सत्ता हत्याएका थिए।

त्यसपछि यी दुई जनरलबीच द्वन्द्व सुरू भएको हो। भित्रभित्रै सल्किरहेको द्वन्द्व गत शनिबारदेखि सतहमा आएको हो। जतिबेला उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गर्न थाले।

नागरिक शासन पुनर्स्थापनाका लागि अर्ध सैनिक बल आरएसएफलाई सेनामा समायोजन गर्ने विषयमा को हाबी हुने भन्ने विषय अहिलेको लडाइँको प्रमुख कारण हो।

बुरहानले आरएसएफ एक विद्रोही समूह भएको र आफूलाई गिरफ्तार गरेर मार्न चाहिरहेको बताएका छन्।

सुडानमा सेनाको संख्या २ लाख २० हजार जति छ भने आरएसएफको संख्या ७० हजारको हाराहारीमा छ।  यो लडाइँ कहिले सकिन्छ भन्ने स्पष्ट छैन।

संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन, अमेरिकालगायतले दुबै पक्षलाई संयमता अपनाउन र युद्धविराम गर्न आग्रह गरेका छन्।