Saturday, July 4

धादिङका सांसदको माग : बुढीगण्डकी आयोजना तत्काल सुरु गर

नेपालअखबार, काठमाडौं । धादिङका सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न माग गरेका छन् ।

Advertisement

उनले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै आयोजना निर्माण सुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा रुलिङ गर्न सभामुखलाई पनि आग्रह गरेका छन् ।

Advertisement
Advertisement

गोरखा र धादिङको सीमानामा बुढीगण्डकी नदीमा बन्ने १२ सय मेगावाटको जलासययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेको भन्दै उनले तत्काल निर्माण गर्न माग गरे ।

Advertisement

उक्त आयोजना निर्माणका लागि अब २ खर्ब ६० अर्ब भए पुग्ने र सरकारले यही आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत १ खर्ब रुपैयाँ भन्दा बढी संकलन गरिसकेको पाण्डेले बताए ।

‘सरकारले आयोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ तेलबाट कर उठाइसकेको छ । वार्षिक २५ अर्ब रुपैयाँ तेलबाट उठ्छ । २० प्रतिशत शेयर उठाउँदा करिब ५० अर्ब उठ्छ । निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठ्छ । वर्षमा २५ अर्बको स्रोत सुनिश्चित गर्दा यो आयोजना बन्छ’, उनले भने ।

यो आयोजनाको मुआब्जा वितरणमा सरकारले ४१ अर्ब रुपैयाँ खर्च गरिसकेको भन्दै उनले आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछापालनबाट लाखौं मान्छेले रोजगारी र व्यवसाय गर्न सक्ने बताए ।

बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट संकलन गरेको रकम सरकारले अन्यत्र लगानी गरेकामा असन्तुष्टि जनाउँदै उनले तत्काल निर्माण अघि बढाउन माग गरे ।

सरकारको एकजना उपप्रधानमन्त्रीले गोरखामा आयोजित खेलकुद कार्यक्रममा बुढीगण्डकी आयोजना सुरु गर्र्छौं भनेको आफूले सुनेको भन्दै उनले भने ‘त्यहाँ बोल्नुभन्दा यहाँ (प्रतिनिधिसभामा) बोलेको भए हुन्थ्यो नि ।’

पाण्डेले अगाडि भने, ‘सरकारलाई चाँडो भन्दा चाँडो यो आयोजना सुरु गर्छौं र यति सालभित्र सम्पन्न गर्छौं भनेर बोल्नका लागि सभामुखबाट रुलिङ होस् ।’